कानुन अभावमा जनताको काममा अवरोध नहोस्: सभामुख घिमिरे

काठमाडाैं | माघ ९, २०७९

कानुन अभावमा जनताको काममा अवरोध नहोस्: सभामुख घिमिरे

काठमाडौं:  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।


सोमबार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरूसँग कुरा गर्नुहुँदै सभामुख घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताउनुभएको हो ।


उहाँले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरू बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अप्ठ्याराहरू सिर्जना भएको गुनासो आएको भन्नुहुँदै ती कुरालाई सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले ऐन कानुनहरू ठिक समयमा ठिक ढङ्गले बन्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि कानुन अभावमा जनताको काममा अवरोध हुनु नहुने उहाँको भनाइ छ ।


सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्त्वपूर्ण भूमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको सुरुवात भएको बताउनुभयो । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भूमिका खेल्ने उहाँको भनाइ छ ।


सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरूसँग छलफल गर्दा आफूहरूलाई पनि समावेश गराउन आग्रह गर्नुभयो ।


उहाँले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रूपमा आफूहरूले हासिल गरेका अनुभवहरूले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पुर्‍याउने बताउनुभयो । संयोजक शाहीले सभामुखले संसद्को गरिमा र महत्त्वलाई स्थापित गराउने अपेक्षा आफूहरूले गरेको बताउनु भयो ।


संयोजक शाहीले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा बहस र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गर्नुभयो ।


‘‘धेरै चुनौतीहरू छन् । यो जिम्मेवारीमा रहँदा खेरी तटस्थताको सन्दर्भमा पनि अलिअलि प्रश्नहरू आएकै छन् । यो संस्थाको गरिमा, महत्त्वलाई स्थापित गर्नमा सम्माननीय ज्यू त लामो अनुभवी, परिपक्व नेतृत्व भएका हुनाले त्यसमा धेरै मद्दत पुग्नेछ, बल पुग्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘सम्माननीय ज्युको नेतृत्वमा विधायीकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा पनि बहस, पैरवी गर्नु जरुरी छ । त्यो कामको नेतृत्व लिनुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।’’


त्यस्तै, बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरूले गरेका कामको समीक्षा हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा बन्न बाँकी रहेका कानुनहरू बनाउनका लागि सङ्घले पनि घुच्च्याउनुपर्ने धारणा राख्नुभयो ।


उहाँले भन्नुभयो, ‘‘प्रदेशमा अझै पनि बन्न बाँकी कानुनहरू छ । बन्न बाँकी कानुनहरू सङ्घले कानुन नबनाएका कारण पनि भएको छ । त्यसकारण सङ्घले पनि प्रदेशका लागि कानुन बनाउनको निम्ति घुच्च्याउनुपर्ने र तल बनाउनुपर्ने । ती कुरा गर्नसक्यो भने राम्रो हुन्छ भन्ने लागेको छ ।’’ उहाँले आगामी दिनमा छलफलहरू गर्दा आफूहरूलाई पनि समावेश गराउन र अनुभवहरूको आदानप्रदान गर्न अनुरोध गर्नुभयो ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्